काठमाडौं, २७ माघ । निर्वाचन आयोगसमक्ष प्रतिनिधिसभाको समानुपातिक तर्फ विजयी उम्मेदवारको सूची पठाउन शनिवार तय भएको एमाले स्थायी समितिको बैठक स्थगित भएको छ । शनिवार दिउसो ४ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बैठक तय गरिएको थियो ।
अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले आइतबार बिहान बस्नेगरी बैठक स्थगित भएको वताए । आइतबारै प्रतिनिधिसभाका समानुपातिक तर्फ सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने एमालेको तयारी छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले पाएको सिट तोक्दै सूची बुझाउन ३ दिनको समय दिएको थियो । प्रतिनिधिसभाको समानुपातिक तर्फ एमालेले ४१ सांसद जितेको छ । ४१ मध्ये ३७ महिला र ४ पुरुषको सूची एमालेले पठाउनु पर्नेछ ।
आयोगले दलहरुलाई ३ दिन भित्र सूची बुझाउन शुक्रवार पत्राचार गरेको थियो । ३ दिन भित्र बुझाएको सूची सच्याउन अर्को दुई दिन आयोगले छुट्याएको छ । बढिमा फागुन ५ गते भित्र प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगले वताउँदै आएको छ । प्रतिनिधि सभाको निर्वाचन अढाई महिना अघि नै सम्पन्न भए पनि कानुनी अड्चन देखाउँदै आयोगले हालसम्म परिणाम सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्