Banner News

प्रतिनिधिसभा निर्वाचन , ५ फागुनभित्रै अन्तिम परिणाम



काठमाण्डौ २ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक परिणाम ५ फागुनभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । दलहरूले पाएको मतका आधारमा सिटको संख्या छुट्याएको आयोगले ५ फागुनभित्रै राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले समानुपातिक प्रणालीतर्फका दलहरूले प्राप्त गरेको सिट सच्याउनका लागि समय दिएर पठाइएको भन्दै ५ फागुनसम्म राष्ट्रपतिसमक्ष समानुपातिक निर्वाचनतर्फको परिणाम बुझाउने जानकारी दिएका हुन् ।

‘आयोगले दलहरूलाई सिटको संख्या तोकेर नाम पठाउन भनिसकेको छ, उहाँहरूबाट नाम पनि आयोगमा प्राप्त भएको छ तर केही दलको नाम मिलाउनुपर्ने भएकाले आयोगले सच्याउन समय दिएर पठाएको छ, सबै प्रक्रिया मिलाएर आयोगले ५ गतेभित्रै राष्ट्रपतिसमक्ष परिणाम बुझाउँछ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

प्रतिनिधिसभाको कुल ११० सिटमध्ये नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेका छन् ।

एमालेले प्राप्त गरेको ४१ सिटमध्ये ३७ जना महिला सदस्य प्रतिनिधिसभामा सांसद हुनेछन् भने चार जना पुरुष सदस्य निर्वाचित हुनेछन् ।

यसैगरी, कांग्रेसले प्राप्त गरेको सिटमा २० जना पुरुष र २० जना नै महिला प्रतिनिधिसभाका समानुपातिक सांसद हुनेछन् । माओवादी केन्द्रले पाएको १७ सिटमा भने एक जना मात्रै पुरुष उम्मेदवार समानुपातिक सांसद हुनेछन् । बाँकी १६ जना भने माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि समानुपातिक सांसद बन्दै छन् ।

राष्ट्रिय जनता पार्टीले प्राप्त गरेको ६ सिटमा सबै महिला उम्मेदवार सांसद बन्नेछन् भने संघीय समाजवादी फोरमले पाएको ६ सिटमा पाँच जना महिला र एक जना पुरुष सांसद निर्वाचित हुनेछन् ।

दलहरूले आयोगमा आफूले पाएको कोटाअनुसारको निर्वाचित गराइनुपर्ने नाम बुझाए पनि केही दलले भने पहिले समानुपातिक सूची बुझाउँदा अनुसारको समावेशी क्रम नभएपछि सच्याउनका लागि फिर्ता लगेका छन् । कांग्रेस, माओवादी केन्द्र र राजपालाई आयोगले नाम सच्याएर ल्याउन भन्दै पठाएको छ । दलहरूले बुधबार ९आज० नाम सच्याएर आयोगमा बुझाउने कार्यतालिका छ ।

गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ४९ दलले भाग लिएका थिए । निर्वाचनपछि न्यूनतम मतसीमा कटाउँदै पाँचवटा दल मात्रै राष्ट्रिय दल बनेका छन् ।राजधजनी बाट ।