Banner News

५० ओभरको क्रिकेटमा नेपाललाई ठूलो सफलता



काठमाडौं ३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत जित्नै पर्ने बाध्यात्मक खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपाल डिभिजन एकमा बढुवा भएको छ। यससँगै नेपालले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि पनि स्थान सुरक्षित गरेको छ। विश्वकप छनोट प्रतियोगिता आगामी मार्चमा जिम्बावेमा हुँदै छ।

छनोट चरण पार गर्दै नेपाली क्रिकेटले ५० ओभरको क्रिकेटमा हात पारेको यो नै अहिलेसम्मकै ठूलो सफलता हो। नेपालले यसअघि सन् २०१५ देखि २०१७ सम्म सञ्चालन भएको डिभिजन एकको प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो। सन् २०१५ मा नामिवियामै भएको डिभिजन दुईमा तेस्रो स्थानमा सीमित नेपाललाई आईसीसीले डिभिजन एकमा बढुवा गर्ने निर्णय गरेको थियो।

आईसीसीले डिभिजन एकका अफगानिस्तान र स्कटल्यान्डलाई पूर्ण सदस्य राष्ट्रको मान्यता दिँदै नेपाललाई डिभिजन एकमा बढुवा गरेको थियो।

नेपालले त्यसबेला डिभिजन एकका अन्य टोलीले जस्तै एकदिवसीय टोलीको मान्यता नपाए पनि विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो। डिसेम्बरमा सम्पन्न च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन नसकेपछि भने नेपाल फेरि डिभिजन दुईमा घटुवा भएको हो। नेपालले बुधबार क्यानडालाई पराजित गरेपछि भने पहिलो पटक छनोट चरण पार गर्दै डिभिजन एकमा पुगेको छ। यो ५० ओभरको क्रिकेटमा नेपालले हात पारेको अहिलेसम्मकै उच्च सफलता हो।

च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन सकेको भए नेपालले डिभिजन दुईको प्रतियोगिता नखेली जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न सक्षम हुने थियो।

डिभिजन एकको बढुवा र विश्वकप छनोट प्रतियोगिताका लागि छानिएसँगै नेपालले एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना पनि जीवितै राखेको छ।

डिसेम्बरमा सम्पन्न च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन नसकेपछि नेपाल डिभिजन दुईमा घटुवा भएको थियो।

जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्सबाहेक शीर्ष स्थान हात पार्ने तीन टोलीले २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन्। विश्वकप छनोटमा टेस्ट मान्यताप्राप्त टोली जिम्बावे, वेस्ट इन्डिज, आयरल्यान्ड र अफगानिस्तानसहित एसोसिएट टोली नेदरल्यान्ड्स, स्कटल्यान्ड, पपुवा न्युगिनी ९पिएनजी०, हङकङ, संयुक्त अरब इमिरेट्स ९युएई० र नेपाल छन्। विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्ड, पिएनजी, हङकङ र युएईमध्ये शीर्ष तीनभित्र अटाउन सकेको अवस्थामा नेपालले चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय टोलीको हैसियत प्राप्त गर्नेछ।

नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ।

नामिवियाको वान्डेरर्स क्रिकेट मैदानमा एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले बलर करण केसीको अविश्वसनीय ब्याटिङ प्रदर्शनसँगै अन्तिम बलमा जित भेट्टाएको हो।

नेपाललाई विजयी बनाउन करणले ४२ बलमा अविजित रहँदै ४२ रनको योगदान दिए। उनले आफ्नो पालिमा चार छक्का र तीन चौका प्रहार गरे। नेपाल जितबाट निकै टाढा देखिएको अवस्थामा करणले धैर्यतापूर्वक तर विस्फोटक ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका थिए।अन्नपुर्ण बाट ।