Banner News

नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्ट, सीपीआई प्रतिवेदन



काठमाडौं ११ फानुन । नेपाल ३१ अंकका साथ भ्रष्ट मुलुकहरूको सूचीको १२२औं स्थानमा परेको छ । सन् २०१६÷१७ मा विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षणका आधारमा ट्रान्सफरेन्सी इन्टरनेसनले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक ९सीपीआई–२०१७०मा नेपाल भ्रष्टचार बढी हुने मुलुकको सूचीमा दर्ता भएको हो ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीईएमलगायतका ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा ट्रान्सफरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांकमा नेपालले १०० पूर्णांकमा ३१ अंक मात्र पाएको छ ।

सीपीआई प्रतिवेदन

सर्वेक्षणमा नेपाललाई विश्व बैंकले ३५, वल्र्ड इकोनोमिक फोरमले ३४ र ग्लोबल इन्साइटले ३५ अंक दिएका छन् । त्यस्तै, बर्टेल्सम्यान फाउन्डेसनले २५, वल्र्ड जस्टिस प्रोजेक्टले २१ र भीडीईएमले २५ अंक दिएका छन् ।

गत वर्षभन्दा नेपाल भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा ९ स्थान माथि उक्लिए पनि नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक रहेको ट्रान्सफरेन्सी इन्टरनेसन नेपाल च्याप्टरले जनाएको छ । नेपाल गत वर्ष २९ अंकका साथ १३१औं स्थानमा थियो ।त्यस्तै, सन् २०१५ मा नेपाल २७ अंकका साथ १३०औं स्थानमा थियो भने सन् २०१४ मा नेपालले २९ अंक पाएर १२६औं स्थानमा थियो । नेपालको सबैभन्दा राम्रो अवस्था सन् २०१३ मा थियो । त्यतिबेला नेपाल ११६औं स्थानमा थियो । सन् २०१२ मा नेपाल २७ अंकका साथ सूचीको १३९औं स्थानमा थियो ।
सन् २०१७ मा नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकार दुरूपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता विषय अझै पनि समस्याका रूपमा विद्यमान रहेको ट्रान्सफरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरकी महासचिव पद्मिनी प्रधानाङले बताइन् ।
सीपीआई–२०१७ को सूचीको पहिलो स्थानमा ८९ अंकका साथ न्यूजिल्यान्ड छ । त्यस्तै, डेनमार्क ८८ अंक प्राप्त गरी दोस्रो स्थानमा उभिएको छ ।
सूचकांकले सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया देखाएको छ । सोमालिया ९ अंकका साथ १८०औं स्थानमा रहेको छ । दक्षिण सुडान १२ अंकका साथ पुछारबाट दोस्रो र सिरिया १४ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार अफगानिस्तानमा हुने गरेको तथ्यांक सीपीआई–२०१७ ले देखाएको छ । १५ अंक पाएको अफगानिस्तान पुछारबाट चौथो स्थानमा अर्थात् १७७औं स्थानमा छ ।

राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायतका ६ वटा मापदण्डका आधारमा देशहरूलाई शून्यदेखि १०० सम्म अंक दिइने सर्वेक्षणमा शून्य अंक अति भ्रष्टाचार हुने मुलुक र १०० अंक भ्रष्टाचार नहुने मुलुकलाई दिइन्छ । यस वर्ष १०० अंक कुनै पनि मुलुकले पाएका छैनन् ।
दक्षिण एसियामा दोस्रो भ्रष्ट मुलुक बंगलादेश दरिएको छ । बंगलादेश २८ अंकका साथ १४३औं स्थान र दक्षिण एसियामा सातांै स्थानमा रहेको छ । नेपाल दक्षिण एसियामा भ्रष्टहरूको मुलुकको सूचीमा छैटौं स्थानमा छ । त्यस्तै, ३२ अंकसाथ पाकिस्तान विश्वभर ११७औं र दक्षिण एसियामा पाँचौं, माल्दिभ्स ३३ अंकसाथ विश्वभर ११२औं दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । ३८ अंकका साथ विश्वभर ९९औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियामा तेस्रो र भारत ४० अंकसाथ विश्वभर ८१औं र दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ ।
भुटान दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भएको मुलुकमा रहेको छ । भुटान ६७ अंक हासिल गर्दै १६आंै र दक्षिण एसियामा पहिलो स्थानमा रहेको छ ।
एमनेस्टीले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार विश्वका दुई तिहाइ देशहरूले ५० भन्दा कम अंक पाएका छन् ।यस्तै, नेपालको उत्तरी छिमेकी चीन ४१ अंकसाथ ७७औं स्थानमा छ । त्यस्तै, अमेरिकाले ७५ अंक प्राप्त गर्दै १६औं स्थानमा रहेको छ ।
सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने नभएको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देशमा कम भ्रष्टाचार हुन्छ । राजधानी बाट ।