Banner News

‘चैतको पहिलो साताभित्रै बृहत् एकता घोषणा गर्छौं :’भीम रावल



काठमाण्डौ १६ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही २५ फागुनभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैतको पहिलो साताभित्रै बृहत् एकता घोषणा गर्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले भने, ‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउँछौं, त्यसपछि एकता बृहत् रूपमा घोषणा गर्छौं, सम्भवतः एकता चैतको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यहीअनुसार तीव्र तयारीमा जुटेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए । उनले भने, ‘दुईवटा अलगअलग पार्टी एकताको प्रक्रियामा भएकाले हामीहरू दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाइरहेका छौं, फागुन २५ गतेसम्म टुंगो लगाउँछौ ं।’

विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आआफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने उनको भनाइ थियो ।

रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाए । आउने आइतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनको भनाइ थियो । उनले भने, ‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ,, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होइन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं ।’

उनले सरकारले पूर्णता पाउनेमा अब विलम्ब नहुने जिकिर गरे । उनले थपे, ‘अब ढिलाइ हुँदैन, किनकि बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ ।’

उनले अर्थमन्त्रीमा नियुक्त भएका डा। युवराज खतिवडा अर्थतन्त्रसम्बन्धीका ज्ञाता भएकाले समृद्धि हाँसिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने विश्वास दिलाए । उनले भने, ‘एमालेमा अरू योग्य नेताहरू नै नभएर उहाँलाई नियुक्त गरेको भने होइन, अरू नेताहरूले पनि विगतमा अर्थमन्त्रालयको नेतृत्व गरिसक्नु भएको छ ।’

त्यस्तै, उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुंगो लागि नसकेको जिकिर गरे । रावलले भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटीमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुंगो लाग्न बाँकी छ ।’

रावलले आफूहरू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले लोकतन्त्र र कानुनी शासनअनुसार सबै चल्नुपर्नेमा जोड दिए । उनले थपे, ‘हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौं ।’राजधानीमा समाचार छ ।