Banner News

पार्टी एकताको पूर्वाभ्यास संसदीय दलबाट गर्दै एमाले र माओवादी



काठमाडौं १८ फागुन। नेकपा एमाले र नेकपा केन्द्रले पार्टी एकीकरणको अभ्यास संसदीय दलबाट गर्ने भएका छन् । संघिय संसदको बैठक बस्नुअघि दुई दलका सांसदलाई एक ठाउँमा राखेर पार्टी एकता भएपछिको पूर्व अभ्यास गर्न लागेका हुन । एमाले र माओवादीका सांसदहरुलाई दुबै पार्टीका अध्यक्षहरुले संयुक्त प्रशिक्षण दिने भएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा शनिबार विहान ११ बजे दुबै दलका संसदहरुलाई एकैसाथ प्रशिक्षण दिने कार्यक्रम राखिएको छ। कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षण दिने छन् । दुवै दलले यसलाई पार्टी एकताको पूर्वाअभ्यासका रुपमा लिएका छन् । एमाले नेता सुवास नेम्वाङ पार्टी एकता निश्चित हुने भएकाले यसलाई त्यसको अभ्यासका रुपमा लिएपनि हुने बताए । संसद बैठकमा भने उनीहरु फरक–फरक रोमा बस्नेछन् ।

‘संसद बैठक सुरु हुनुअघि हाम्रो रणनीति र आगामी कार्यदिशाका विषयमा छलफल गर्न लागेका हो’ नेम्वाङले नेपालपाटीसँग भने, ‘ दुई अध्यक्षको सम्वोधन र छलफल पार्टी एकीकरणपछिको रणनीतिका केन्द्रित हुनेछ ।’ दुई दलले पार्टी एकताका लागि लिखित हस्ताक्षर गरिसकेका छन् । अब बन्ने संसदीय समिति, ती समितिहरुले गर्ने कामका विषयमा पनि छलफल हुनेछ । संसदमा एमाले पहिलो र माओवादी दोस्रो दलको हैसियतमा सहभागि हुनेछन् । पहिलो बैठक फागुन २१ ग्तेका लागि बोलाइएको छ ।