Banner News

भोलि राष्ट्रपतिको मनोनयन



काठमाण्डौ २२ फागून । नयाँ संविधान जारी भएसँगै संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि भोलि बुधबार मनोनयन दर्ता हुँदै छ । गठबन्धनका कारण राष्ट्रपति वाम गठबन्धनबाट निर्वाचित हुने निश्चितजस्तै बनेको छ भने एमालेबाट उम्मेदवारका लागि तीन जनाले दाबी गरेका छन् ।

आगामी २९ गते राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा वाम गठबन्धनबाट एमालेका तर्फबाट उम्मेदवारी रहनेछ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ । गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पनि संयुक्त रूपमा उम्मेदवारी दिएका वाम गठबन्धन एमाले र माओवादी केन्द्रसँग झन्डै दुई तिहाइ मत रहेको छ ।

दुई दलले दुई संवैधानिक पद राष्ट्रपति र सभामुख एकअर्कामा भागबन्डा गरेकाले राष्ट्रपतिमा एमालेका तर्फबाट र सभामुखमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी रहने भएको हो ।

एमालेले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन आज ९मंगलबार० पार्टी सचिवालय समितिको बैठक आह्वान गरेको छ । बैठकले नयाँ राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

एमालेका तीन आकांक्षी

एमालेभित्र राष्ट्रपतिका लागि तीन जनाले इच्छा देखाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः दोहोरिन इच्छा देखाएकी छन् । संक्रमणकालका कारण पूर्ण कार्यकाल पदमा बस्न नपाएको भन्दै उनले पुनः दोहोरिने आकांक्षा राखेकी छिन् । राष्ट्रपतिका लागि भण्डारीले राजनीतिक लबिङसमेत तीव्र पार्दै आएकी छन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारसँग निकटता बढाउने उद्देश्यले डिनर गरेकी थिइन् भने पार्टीभित्र राजनीतिक भेटलाई समेत तीव्रता दिएको एमाले नेताहरू बताउँछन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा देखाएका छन् । उनले यसअघि सार्वजनिक रूपमा नै पार्टीले जिम्मा दिएमा राष्ट्रपतिमा जाने अभिव्यक्ति दिएका थिए । खनालले एउटै पदमा पटकपटक एउटै व्यक्ति दोहो¥याउन नहुनेसमेत बताउँदै आएका छन् ।

संविधानसभा पूर्वअध्यक्ष सुवास नेम्वाङले समेत राष्ट्रपतिमा इच्छा देखाएका छन् । नेम्वाङले पहिलो संविधानसभामा अध्यक्षको रूपमा महत्वपूर्ण भूमिका खेलेकाले पनि उनको सम्भावना पनि बलियो रहेको एमालेभित्र चर्चा छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पक्षले भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याउन चाहेको समेत बताइन्छ । यता, ओलीको सहयोगीका रूपमा भूमिका खेल्दै आएका नेम्वाङलाई पनि बनाउने सोचमा ओली रहेको बताइन्छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम खनालको पक्षमा रहेको एमाले स्रोतको दाबी छ ।

कांग्रेसले पनि उम्मेदवारी दिने तयारी

प्रतिनिधिसभा निर्वाचनमा दोस्रो दल बनेको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेदवारी दिने तयारी भईरहेको र आज वा भोलिमा पार्टीभित्र छलफल गरेर उम्मेदवारको टुंगो लगाइने जानकारी दिए ।

कांग्रेस स्रोतका अनुसार मानबहादुर विश्वकर्मालाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी छ । विश्वकर्मा पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको उम्मेदवार बन्दा समर्थकबनेका थिए ।राजधानी बाट ।