काठमाडौ, २६ फागुन । सभामुख माओवादी केन्द्रले लिएपछि राष्ट्रियसभा अध्यक्ष बन्न एमालेभित्र दाबेदारहरुले आफ्नो पक्षमा लबिङ बढाएका छन् ।
राष्ट्रियसभा अध्यक्षका लागि परशुराम मेघी गुरुङ, गणेश तिमिल्सिना र खिमलाल भट्टराईले लबिङ थालेका हुन् । फागुन २८ गते राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी मनोनयन हुँदैछ ।
गुरुङलाई उम्मेदवार बनाउन बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । राष्ट्रियसभामा पुगेका एमालेका सांसदहरुमध्ये गुरुङ सबैभन्दा सिनियर नेता हुन् । उनी पार्टीको सचिवमा पराजित भएका पोलिटव्यूरो सदस्य हुन् ।
गणेश तिमल्सिना बैकल्पिक पोलिटव्यूरो सदस्य हुन् भने अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई केन्द्रीय सदस्य हुन् । गुरुङ चौथो पटक सांसद भएका हुन् । तिमल्सिना र भट्टराईको पहिलो पटक हो । गुरुङ २०४८ र २०५६ सालको संसदीय निर्वाचनमा संखुवासभाबाट निर्वाचित भएका थिए । उनी २०६४ को संविधानसभामा समानुपातिक सांसद थिए ।
संसदीय अनुभव, वरिष्ठता र समावेशी मान्यताका आधारमा गुरुङलाई अध्यक्ष बनाउनुपर्ने माग पार्टीभित्र उठेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एकै समुदायका भएकाले पनि राष्ट्रियसभा अध्यक्षमा आदिवासी जनजातिको प्रतिनिधित्व गराउन गुरुङलाई एमालेले उम्मेदवार उठाउने सम्भावना रहेको एक पदाधिकारीले बताए ।
एमाले स्रोतका अनुसार गुरुङलाई राष्ट्रियसभा अध्यक्ष बनाएर तिमल्सिनालाई राष्ट्रियसभामा संसदीय दलको नेता र भट्टराईलाई प्रमुख सचेतक बनाउने गरी छलफल अघि बढेको छ ।अनलाइनखबरबाट
प्रतिक्रिया दिनुहोस्