Banner News

तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कारवाही गर्ने मन्त्री पण्डितको घोषणा



काठमाडौं, ७ चैत । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कार्मचारीलाई आइतबारदेखि कारवाही थाल्ने बताउनु भएको छ । कारवाही बर्खास्ती सम्म हुने चेतावनी पनि उहाँले दिनुभएको छ ।

विराटनगर विमानस्थलमा वुधबार विहान पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले सेवा गर्नका लागि तोकिएको ठाउँमा कर्मचारी जानैपर्ने बताउनुभयो ।

सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई निजमति ऐन अनुसार कारबाही गर्ने उहाँले बताउँदै आउनु भएको छ । त्यस्तो कारबाहीको प्रक्रिया आइतबारदेखि सुरु गरिने पनि उहाँले जानकारी दिनुभयो । सरकारको तथ्याङ्क अनुसार अहिलेसम्म ७८ प्रतिशत कर्मचारी मात्र सरकारले तोकेको कार्य क्षेत्रमा हाजिर भएका छन् ।

सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाशमार्फत सक्षम जनशक्तिलाई विदा दिने पक्षमा सरकार नरहेको उहाँले बताउनु भयो । नयाँ कार्यक्षेत्रमा खटाएको कर्मचारीलाई पहिला काम गरिरहेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागीदार हुने चेतावनी पनि उहाँले दिनुभयो ।