Banner News

एमाले–माओवादी केन्द्र एकता मस्यौदा तयार, संख्या खाली



काठमाण्डौ १४ चैत्र । नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा एकताको खाका तय गर्न गठित सांगठनिक तथा विधान मस्यौदा कार्यदललाई एकीकृत पार्टीका विभिन्न तहको संख्यामा सहमति जुटाउन सकस परेको छ । नेताहरूको व्यवस्थापन कसरी गर्ने र कति संख्याको स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति तथा अन्य कमिटी बनाउने भन्नेमा कार्यदल निष्कर्षमा पुग्नसकेको छैन ।

रामबहादुर थापा नेतृत्वको कार्यदलले मस्यौदा लेखनमा १० वटा कमिटी बनाउने टुंगो लगाएको छ । तर, कुन कमिटी कति संख्याको भन्ने खाली नै छाडिएको छ । कार्यदललाई उक्त खाली संख्या भर्न केही दिनदेखि सकस परेको छ ।

माओवादी केन्द्रका नेता तथा कार्यदल सदस्य जनार्दन शर्माले संख्याको विषयमा सहमतिमा पुग्न बाँकी रहेको बताए । ‘बुधबार बैठक बसेर कति संख्या राख्ने भन्ने टुंगो लगाउने तयारी छ, अहिले टुंगिएको छैन,’ नेता शर्माले राजधानीसँग भने ।

कार्यदलमा एकीकृत पार्टीको केन्द्रीय समिति ३ सयदेखि ३५० सम्म, पोलिटब्युरो १५० र स्थायी समिति ३५ सदस्य संख्याको आसपासमा हुनेगरी छलफल चलेको छ । तर, त्यसमा दुई पार्टीका कतिकति संख्या अटाउने भन्नेमा टुंगो लाग्न सकेको छैन ।

एमाले–माओवादी केन्द्र एकता

संख्याको विषयमा शीर्ष नेतामा नै सहमति जुट्न नसक्दा कार्यदलसमेत अलमलमा परेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार एक गोप्य प्रशिक्षणमा ५०÷५० प्रतिशत हुनेगरी सहमति भएमा मात्र एकता हुने बताएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अध्यक्षले छलफल गरेका थिए । अध्यक्ष तहमा नै सहमति नजुटेपछि कार्यदलको मंगलबार बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।

एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सदस्य संख्या कति रहने भन्ने विषयलाई खाली ठाउँ छाडेर मस्यौदा तयार भएको र आज ९बुधबार० कार्यदल बैठक बसेर टुंग्याउने बताए । ७० वर्षे विवादमै कार्यदल ७० वर्षे उमेरहदको विषयमा पनि अलमलिएको छ । नेकपा एमालेको विधानमा ७० वर्ष पुगेपछि कार्यकारी कमिटीमा बस्न नपाउने प्रावधान रहेकोमा एकतापछि एकीकृत पार्टीमा ७० वर्षे उमेरहद राख्ने नराख्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

उपसमितिले उमेरहदको विषय टुंग्याउन नसकेपछि त्यो जिम्मा कार्यदललाई सुम्पेको थियो । कार्यदलमा समेत सहमति जुट्न सकेको छैन । नेता पाण्डेले महाधिवेशनबाट टुंग्याउने कि भनेर पनि छलफल चलिरहेको बताए ।
माओवादी केन्द्रको विधानमा उमेरहदबारे प्रावधान नभए पनि एमालेले भने ७० वर्षे उमेरहद कायम गरेको छ । कार्यदलमा एमाले नेताहरूले उमेरहदको विषय उठाए पनि माओवादी नेताले त्यसलाई अस्वीकार गरेका छन् । एमालेकै कतिपय नेता ७० वर्षे प्रावधान खुला गर्नुपर्ने पक्षमा छन् ।

अध्यक्ष दुई कार्यकाल

एकीकृत पार्टीको नेतृत्वमा एक व्यक्ति दुई कार्यकाल मात्र बस्न पाउने भएका छन् । कार्यदलमा एक व्यक्ति दुई कार्यकाल रहने विषयमा सहमति जुटेको छ । एमाले नेता पाण्डेले पहिलेदेखि नै एक व्यक्ति दुई कार्यकालसम्म रहने भन्दै एकीकृत पार्टीमा पनि त्यही व्यवस्था लागू हुने बताए ।

राजनीतिक प्रतिवेदनको टुंगो भोलि

राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले बिहीबार ९भोलि० प्रतिवेदनको टुंगो लगाउने भएको छ । कार्यदल सदस्य देवेन्द्र पौडेलले मस्यौदा लेखन सकिएको भन्दै बिहीबार बैठक बसेर टुंगो लगाउने जानकारी दिए । माधव नेपाल नेतृत्वको कार्यदलले एकीकृत पार्टीको कार्यदिशा माक्र्सवाद–लेनिनवाद राखेको छ । मस्यौदामा जनयुद्ध, जनआन्दोलनलगायत भूमिकालाई स्थान दिइएको छ ।
गत ७ फागुनमा एकता संयोजन समितिले पार्टीको लक्ष्य समाजवाद हुने, कार्यदिशा माक्र्सवाद–लेनिनवाद हुने र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने सहमति गरेको थियो ।राजधानी बाट ।