(बैशाख ६, काठमाडौं) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान समयमा नेपाली काग्रेसको पहिलो एजेण्डा भनेको नै पार्टी एक ढिक्का बनाउने भएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले पार्टीको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुने र सोही बैठकले पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका हुन् । उनले पार्टी अब पूर्ण एकताका साथ अघि बढाउने संकल्प समेत प्रस्तुत गरेका छन् ।
उनले पार्टीको महासमिति चाँडै बस्ने विश्वास दिलाए । उनले भने, ‘संघीय संरचना अनुसार विधान परिर्वतन गर्नुपर्छ, हामी अब संगठनहरुलाई क्रियाशील बनाउँछौं, देशभरि नै संगठन निर्माणमा हामी जोड दिन्छौं, भातृसंगठनहरुलाई नै पनि सशक्त बनाएर अघि बढाउँछौं ।’ आगामी एक वर्षभित्र पार्टीलाई उर्जाशील र क्रियाशील बनाउने पनि उनको विश्वास थियो ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले भने, नेताहरु त अहिले संयमित हुनुभएको छ, पहिलो एजेण्डा भनेको अब पार्टी एक ढिक्का हुन्छ, यसमा कुनै दुईमत छैन्, दोस्रो कुरा भनेको कम्युनिष्ट सरकारका बदमासीहरुलाई औंल्याउने र खबरदारी गर्ने हो, अहिलेको सरकारले अधिकार केन्द्रित गरिरहेको छ, सरकारलाई पार्टी करण जस्तो र पार्टीलाई सरकारजस्तो बनाउने काम भयो भने हामी खबरदारी गर्छौं, त्यस्तै सरकारले राम्रो काम गर्यो भने हामी समर्थन गर्छौं ।’ डा। महतले सरकारले नियम मिचेर काम गरे पार्टीले एक स्वरमा विरोध गर्नेपनि जनाए ।
प्रतिक्रिया दिनुहोस्