राजनीति

ओली–प्रचण्डबीच भेट, बार्ता सकारात्मक



(बैशाख ११, काठमाडौं) । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट बार्ताका क्रममा सम्मानजन रुपमा पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टी एकता र समसामयिक परिस्थितिको विषयमा कुराकानी भएको छ । बार्तामा ओलीले जनता र कार्यकर्ता एकताको व्यग्र प्रतीक्षामा रहेकाले छिटै निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका थिए । उनले एकताबाट पछि हट्न नसकिने र सम्मानजनक रुपमै पार्टी एकता गरेर जानेमा आफू सहमत रहेको धारणा राखेका थिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्मानजनक, न्यायोचित र समानताका आधारमा पार्टी एकता गर्न माओवादी तयार रहेको धारणा राखेका थिए । प्रचण्डले सबैलाई न्याय र गौरवबोध हुने गरी एकता गर्नुपर्नेमा जोड दिँदै राजनीतिक स्थिरता, विकास र नेपालमा एउटै कम्युनिष्ट पार्टी देख्न चाहने लाखौं जनताको भावनाको सम्मान गर्नुपर्ने धारणा राखेका थिए । उनले एमालेभित्रको आन्तरिक गृहकार्य गरेर एकतालाई गति दिन ओलीसँग आग्रह गरेका थिए ।