बैशाख १६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन् ।
दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आइतवार उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिए। उनले भने, “नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएका छौँ, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ।”
मन्त्री यादवले दक्षिण एशियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे। उनले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रहसमेत गरे।
कार्यक्रममा दक्षिण एशियाली मुलुकका १५० जना साना तथा मझौला व्यवसायीको सहभागिता रहेको उक्त एकदिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।










प्रतिक्रिया दिनुहोस्