शैक्षिक

प्रम ओलीद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना : श्रम अधिकार सुनिश्चितताको कामना



बैशाख १८, काठमाडौं । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।

सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन गरिएको थियो । घटनामा दर्जनौं श्रमिकको ज्यान गएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना कामना गरेमा छन् ।

सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको उल्लेख गरेका छन् ।

नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्रीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।