राजनीति

मे दिवसमा प्रचण्डकाे सन्देश– ‘श्रमिक वर्गको मुक्तिका लागि कम्युनिष्ट एकता अपरिहार्य’



बैशाख १८, काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक वर्गको मुक्तिका लागि कम्युनिष्ट एकता अपरिहार्य भएको वताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार प्रचण्डले जारी गर्नुभएको शुभकामना सन्देशमा लेखिएको छ, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ । त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो ।’

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै उनले नेपाल र विश्वका मजदुरहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।