बैशाख २०, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवश मनाइँदैछ ।
नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढ्दै गएकोप्रति यस सम्बद्ध क्षेत्रका व्यक्तिहरुले चिन्ता प्रकट गरेका छन् । सूचनाको हकको क्षेत्रमा कार्यरत संस्था फ्रिडम फोरमका अनुसार यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च छ । सन् २०१७ र १८ को अप्रिल महिनासम्म फोरमले गरेको मिडिया अनुगमनमा प्रेस स्वतन्त्रता उल्लंघनको घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । सन् २०१३ मा १ सय ३१ घटना भएकामा त्यसपछिका वर्षमा केही कमी देखिएपनि २०१७ को मे महिनादेखि २०१८ अप्रिलसम्म ६६ वटा घटना भएका छन् । ती घटनाबाट २ सय भन्दा बढी सञ्चारकर्मीहरू प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै नेपाल पत्रकार महासंघले सार्वजनिक गरेकोप्रतिवेदन अनुसार २०१७ देखि मे ३, २०१८ सम्म प्रेस स्वतन्त्रता उल्लंघनका ६२ वटा घटना भएका छन् ।
नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको धम्की र दुव्र्यवहार १९ वटा, आक्रमण १७ वटा, र पत्रकार पक्राउका १६ वटा घटना छन् । त्यस्तै कब्जा, अपहरण र अवरोधका ६ वटा नीतिगत अवरोधका ३ र पत्रकारलाई बेपत्ता पारेको एउटा घटना छ । संख्यात्मक हिसावले पत्रकार तथा सञ्चार क्षेत्र यो वर्ष केही सुरक्षित देखिए पनि प्रवृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हननका साथै दण्डहीनता र सेल्फसेन्सरसीप कायमै रहेको महासंघले जनाएको छ । महासंघको तथ्याङ्कमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटनाहरू प्रदेश नं ३ मा र सबैभन्दा कम प्रदेश नं १ मा भएका छन् ।
दिवसका अवसरमा पत्रकार महासंघले बिहान राजधानीमा प्रभातफेरिको आयोजना गरेको थियो । बबरमहलबाट शुरु भएको प्रभातफेरी नया बानेश्वरमा आएर टुगिंएको थियो । राष्ट्र संघको साधारण सभाले सन् १९९३ मा युनेस्कोको प्रस्ताव पारित गरेपछि यसका सबै सदस्य राष्ट्रले यो दिवस मनाउने गरेका हुन् । नेपालमा १९९६ देखि यो दिवस नियमित रूपमा मनाइँदै आएको छ । युनेस्कोले यो वर्षको नारा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ तय गरेको छ ।
प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताएका छन् । नयाँ कानून बनाउन लाग्दा धेरै नै प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस राज्यले गरिरहेकाले त्यस्ता कानून बनाउन लाग्दा सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो । अध्यक्ष आचार्यले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउनका लागि सञ्चारमाध्यमले आफैँ अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ आई.एफ.जे ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियामा गत एक वर्षमा ३३ जना सञ्चारकर्मी मारिएका छन् । युनेस्कोको तथ्यांक अनुसार सन् २०१७ मा मात्रै विश्वभर ७९ जना पत्रकारको हत्या भएको थियो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) का अनुसार वर्ष २०१७ मा ८२ पत्रकार मारिए, २०१८ को अहिलेसम्म ३२ जना मारिएका छन् । पछिल्लो १२ वर्षमा कार्यक्षेत्रमा खटिएको अवस्थामा विश्वभरबाट ११ सय पत्रकार तथा सञ्चारकर्मी मारिएका आई।एफ।जे ले को तथ्यांकले देखाएको छ । नेपाल पत्रकार महासंघको अभिलेख अनुसार नेपालमा अहिलेसम्म ३६ पत्रकारको हत्या वा शंकास्पद मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । दक्षिण एशियाली मुलुकमा पत्रकारविरुद्धको दण्डहीनता मौलाए पनि यसको अन्त्यका लागि ती मुलुकका सरकारहरूले कुनै ठोस कदम नचाल्दा पत्रकारिता क्षेत्र नै असुरक्षित बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्