शैक्षिक

मोदीले नेपाल भ्रमणमा के–के गर्दैछन् ? (कार्यतालिका सहित)



बैशाख २४, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साढे २९ घन्टा बिताउने भएका छन् ।

भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय हवाई सेनाको विशेष हेलिकोप्टरमा जनकपुर विमानस्थलमा आउनेछन् । त्यहाँ उनलाई सरकारका मन्त्रीले स्वागत गर्नेछन्। त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन्, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागत गर्ने कार्यक्रम छ । ओलीसँगै २ नम्बर प्रदेशका प्रमुख रत्नेश्वरलाल कायस्थ पनि प्रधानमन्त्री ओलीसँग रहनेछन्।

जानकी मन्दिरमा पूजा सम्पन्न गरेपछि मोदी रामायण सर्किटसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् । दुवै देशका प्रधानमन्त्रीले उक्त सर्किटको संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि बाह्रबिघा मैदान नागरिक अभिनन्दन हुनेछ । त्यसपछि उनी भारतीय सेनाको हेलिकोप्टरबाट काठमाडौं आउनेछन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मोदीलाई स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मोदी सीधै आफू बस्ने होटल हायात जानेछन्। होटेल हायातमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च टुँडीखेल प्रस्थान गर्नेछन् । टुँडीखेलमा प्रधानमन्त्री ओलीले उनको स्वागत गर्नेछन् भने त्यही उनलाई गार्ड अफ अनरले सम्मान गरिनेछ ।

टुँडीखेलको कार्यक्रम सकिएपछि मोदी उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय जानेछन् । पुनसँग शिष्टाचार भेट गरेपछि मोदी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न शीतलनिवास जानेछन् । राष्ट्रपतिसँगको भेट सकिएपछि मोदी र ओली र उनीबीच ‘वान टु वान’ वार्ता हुनेछ । द्वारिकाज होटलमा मोदीसँग नेपालका केही पूर्वप्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम छ । होटलबाटै दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्तरुपमा शिलान्यास गर्नेछन्।

भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री मोदी बिहानै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगी भारतीय सेनाको विशेष हेलिकोप्टरमार्फत मुक्तिनाथ प्रस्थान गर्नेछन्। मुक्तिनाथमा पूजा सकिएपछि हेलिकोप्टरमै मोदी जोमसोम जानेछन्। जोमसोबाट हेलिकोप्टरमै उनी काठमाडौं आउनेछन्। त्यसपछि उनी नेपालका लागि भारतीय राजदूर मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्। त्यसपछि उनी राष्ट्रिय सभागृह जाने कार्यक्रम छ, जहाँ उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ। नागरिक अभिनन्दन सकिएपछि मोदी सीधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगी अपराह्न बिशेष विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्।