Banner News

साउनदेखि मजदुरको न्यूनतम तलब १५ हजार



बैशाख २६, काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको आगमी साउनदेखि १५ हजार न्युनतम मासिक तलब बनाउने  बताएका छन् ।

हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढ्ने भएसँगै श्रमिकहरुमा केही शान्तिका स्वास फेर्ने मौका पाउने भएका छन् । त्यस्तै श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार्य भुक्तानीको व्यवस्था गर्न पनि मन्त्री विष्टले गृहकार्य थालेका छन् ।

यसका लागि श्रम नियमावली संशोधनको तयारी भइरहेको छ । यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ । सरकारले अब मजदुरको न्युनतम् तलव १५ हजारभन्दा माथि लैजाने योजना बनाएको छ । तर, समितिले गर्ने सिफारिसका आधारमा मन्त्रालयले त्यसको अन्तिम निर्णय लिनेछ ।

यसपटक घरेलु कामदारको पनि तलब तोक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।