शैक्षिक

गोकर्णेश्वर नगरपालिकामा छैठौँ पारा पौडी प्रतियोगिता सम्पन्न



जेष्ठ ६, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चासिलसेले गोकर्णेश्वर नगरपालिकालाई अपाङ्गमैत्री नगरको रुपमा विकास गर्न आफूहरू दत्तचित्त भई लागिपरेको धारणा राख्नुभयो ।
नेपाल स्पाइल कर्ड इन्जरी खुलकुद संघले जोरपाटीस्थित पिस बैंकेटमा आयोजना गरेको छैठौँ पारा पौडी प्रतियोगिता कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख चालिसेले सो कुरा बताउनु भएको हो ।
शारीरिक रुपमा अशक्तहरूले पनि खेलकुद माध्यमबाट देश र राष्ट्रिय गरीमा उच्च बनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्न सक्छन् भन्ने प्रमाणको रुपमा आफूले नेपाल स्पाइल कर्ड इन्जरी खुलकुद संघमा आवद्ध भाइबहिनीहरूले दत्तचित्त भई खेलको पौडी प्रतियोगिता र वाटर पोलो खेल खेलेकोमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्याल र वडा नं. ६ का सदस्य तुलसी तिमल्सिना र राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुर्दशन सुवेदी शुभकामना मन्तव्य व्यक्त गर्दै खेलाडीहरूलाई हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा १५ जना पुरुष १० जना महिला गरी २५ जना खेलाडीहरूको सहभागिता रहेको थियो । उनीहरूलाई समाजसेवी उर्मिला डंगोलले टीका तथा रुद्राक्षको माला लगाई हौसला प्रदान गर्नुभएको थियो ।
त्यसमध्ये भीम कमाल, (इम्पुटी) सरिता थुलुङ (इम्पुटी), अक्कल तामाङ स्पाइनल, अनु राई,(स्पाइनल) प्रथम हुन सफल हुनुभएको भने दीपक तामाङ (स्पाइनल), जेनिशा कठायत(स्पाइनल), जंग रुचालमगर (स्पाइनल) र भावना अधिकारी(इम्पुटी) दोस्रो स्थान हासिल गर्न सफल हुनुभयो ।
त्यस्तैगरी, रमेश खत्री(इम्पुटी), संगता माझी(स्पाइनल), जया कार्की( स्पाइनल) र हेमा राई (इम्पुटी) तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभयो ।
विजयी खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपाल लागयत अन्य अतिथिहरूले प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार प्रदान गर्नुभएको थियो भने सहयोगी संघसंस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल स्पाइल कर्ड इन्जरी खुलकुद संघकी अध्यक्ष गायत्री दाहालले शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरूलाई विभिन्न किसिमका रचनात्मक क्रियाकलापहरूमा गोकर्णेश्वर नगरपालिकाले विगत र वर्तमानमा सहयोग र सद्भाव प्रदान गर्दै आएकोमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र उप प्रमुख शान्ति नेपाल लागयत सम्पूर्ण सहयोगी संघसंस्थाहरूलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
सो कार्यक्रममा सरिता राई थुलुङले ह्वीलचियर नृत्य प्रस्तुत गर्दा सबैलाई सांगीतिक मनोरञ्जन प्रदान गरेकी थिइन् ।