जेष्ठ ६, काठमाडौं । नेपाल र चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएको छ ।
नेपाली सेनाले निर्माण गरेको यो सडकको आइतबार रक्षा मन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका छन् ।उद्घाटनका लागि रक्षामन्त्री पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ रसुवा आएका थिए । गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने १७ किमीको सडक मैलुङ–स्याफू बेँसी सडकखण्डको आज उद्घाटन भएको हो ।
नेपाली सेनाद्वारा निर्माण सम्पन्न भएको सडक उद्घाटन भएपछि गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनालाई आजै हस्तान्तरण गरिँदै छ ।
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरी तीन वर्षमा दुई लेनको सो सडक निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । भूकम्पले अधिक क्षति पुर्याएको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक भने एक लेनको मात्रै बनाइएको छ ।
नेपाली सेनाका अनुसार मैलुङ(स्याफ्रुबेसी सडक निर्माणका लागि ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक भन्दा यो सडक २५ किलोमिटर छोटो छ ।










प्रतिक्रिया दिनुहोस्