जेष्ठ ९, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएपछि सत्तारुढ नेकपाका नेताहरु पनि प्रतिवादमा उत्रिएका छन् ।
बुधबारदेखि शुरु भएको नीति कार्यक्रममाथिको छलफलका क्रममा सत्ता र विपक्षका सांसदहरु बिभाजित भएका हुन् । नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले नीति तथा कार्यक्रम तीन चौथाई सांसदको समर्थन प्राप्त सरकारले ल्याएकोले समृद्धिको आधार तय गर्ने गरी आएको बताएका छन् । महासचिव पौडेलले सरकारको आलोचना गर्नुपर्ने संवैधानिक धर्मबाहेक विपक्षी कांग्रेससँग विरोध गर्ने कुनै एजेण्डा नरहेको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको पाठ नपढाउन प्रधानमन्त्रीलाई चुनौती दिएकोमा टिप्पणी गर्दै पौडेलले देशभक्तिको कुरा गर्दा विपक्षलाई नपच्ने गरेको बताए । पौडेलले विविधतायुक्त जाति, भाषा र संस्कृतिको एकताको पक्षपोषण गर्दा विपक्षी दलले कमजोरीको रुपमा लिने गरेको टिप्पणी गरे । देउवालाई प्रश्न गर्दै महासचिव पौडेलले भने ‘राष्ट्रिय स्वाधीनताको पक्षमा सरकार उभिनु गल्ती हो ? राष्ट्रिय एकताको कुरा गर्नु कमजोरी हो ? हामीले कुनै पनि नेपालीलाई देशभक्तिको पाठ पढाउन चाहेको होइन, जनताको देशभक्तिलाई सलाम गरेको हो नीति तथा कार्यक्रममा ।’
त्यस्तै महासचिव पौडेलले भने ‘विभेदमा विश्वास गर्नेहरुले समान अवसर र समान अधिकारको विपक्षमा संशोधन हाले । खासमा उहाँहरुलाई समान अवसर र समान सुरक्षाको कुरा मन पर्दैन । पौडेलले भने ‘हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गका बीचमा लिंकअप गर्न खोज्नु अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो । हुलाकी राजमार्ग समय किटान गरेर ५ वर्षभित्र सम्पन्न गर्ने कुरा यही नीति तथा कार्यक्रममा आएको छ । भित्री मधेस र चुरेको बीचबाट मदन भण्डारी राजमार्ग बनाउने कुराको बिरोध दुर्भाग्यपूर्ण हो ।’
कांग्रेस नेता डा। मिनेन्द्र रिजालले हुलाकी राजमार्ग बन्न नदिने गरी मदन भण्डारी राजमार्गको कुरा ल्याइएको आरोप लगाएपछि पौडेलले जवाफ दिएका हुन् । नीति तथा कार्यक्रमको विपक्षमा संशोधन हाल्ने सांसदहरुले बोलेपछि सत्तापक्षको तर्फबाट पौडेलले प्रतिवाद गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्