समाचार

फरार एसएसपी खत्रीसहित ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी हुने



जेष्ठ ११, काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार गायब भएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुनिल अग्रवाल, ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।

स्रोतका अनुसार मुख्य अभियुक्त गोरेले पनि बयानका क्रममा उनलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए । सुन तस्करी प्रकरणमा एसएसपी खत्रीले प्रहरीको व्यवस्थापनको जिम्मा लिएका थिए ।

सुन तस्करका भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ केजी सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो ।

त्यस विषयमा छानबिन गर्न सरकारले उच्च स्तरीय अनुसन्धान समिति गठन गरेको थियो । समितिको अनुसन्धानका क्रममा समितिको उनीहरुको समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ । त्यस आधारमा दुई जना बहालवाला एसएसपीसहित ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।