शैक्षिक

कमनापमा मोनोरेल चल्ने : चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन र कामनपाबीच भयो समझदारी



जेष्ठ ११, काठमाडौं । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएसँग काठमाडौंको चक्रपथमा मोनोरेल चल्ने निश्चत जस्तै भएको छ ।

आज एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन गर्ने सम्बन्धी समझादीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सीआरसीसीलाई अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको हो ।

सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्‍याए । मेयर शाक्यले भने ‘मोनोरेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं ।’

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीवाबु महर्जनले महानगरबासीलाई सरल जीवनयापन गर्ने सुविधाका लागि मोनोरेल सुन्दर उपहार हुने बताएका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि काठमाडौंको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रवन्धक, होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको जनाएका छन् ।