समाचार

कृषि, पर्यटन र औद्योगिक विकास नै आर्थिक समृद्दीको महत्वपूर्ण आधार : मुख्यमन्त्री राई



जेष्ठ १४ विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ को कृषि, पर्यटन र औद्योगीक विकास नै उक्त प्रदेशको आर्थिक समृद्धिको आधार हुने बताउनुभएको छ ।

प्रदेश नम्बर एक चेम्बर अफ कमर्स र मोरंग जिल्ला चेम्बर अफ कमर्सको संयुक्त सुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अरु देशले १०० बर्षमा गरेको विकास नेपालले १०-१५ बर्षमा गर्नैपर्ने नत्र नेपाल बिश्वको विकासबाट फाइदा लिन चुक्ने भन्दै उहाँले भन्नुभयो, “अबको नेपालको विकासमा नीजि क्षेत्रको भूमिका थप शशक्त बन्दै गएकोले सरकार र निजि क्षेत्रको सहकार्य नै समृद्दीको आधार हो । त्यसको लागि प्रदेश सरकारले तिनवटै क्षेत्रमा निजिक्षेत्रसंगको सहकार्यलाई अगाडी बढाउने छ । प्रदेशको आर्थिक समृद्दीको लागि लगानीमैत्री वातावरण बनाउने भन्दै कतिपय बस्तुहरुमा कर छुट गर्नु पर्ने भएमा प्रदेश सरकार छलफल गर्न तयार रहेको कुरा पनि उहाँले बताउनुभयो ।

बैदेशिक लगानीको सुरक्षाको चिन्ता नगर्न अपिल गर्दै नेपालका निजी क्षेत्रका व्यवसायीहरुले अन्तर्राष्ट्रिय लगानीको लागि आफ्नो ठाउँबाट पहल गर्न पनि मुख्यमन्त्री राईले बताउनु भयो  । त्यसअघि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रदेश नम्बर एक भू-अर्थतन्त्रको हिसाबले महत्वपूर्ण स्थानमा रहेको भन्दै नेपालको बंगलादेशसम्मको पहुँच यहि प्रदेशबाट सुरु हुने कुरा बताउनु भयो  ।

बंगलादेशको सबैभन्दा कम दुरीमा पर्ने बिन्दु झापाबाट २७ किलोमिटर टाढा रहेको भन्दै उहाँले भन्नुभयो, “कनेक्टिभिटी बिना अब देशको समृद्दी हाँशिल हुदैन  । त्यसैले झापालाई बंगलादेशसंग आधुनिक भौतिक पूर्वाधारले जोड्न प्रदेश सरकारले केन्द्र सरकारसंग संयोजन गर्न जरुरि छ ।” यदि फुलबारी-बंगलाबन्ध करिडोरलाई स्तरोन्नति गरेर प्रयोगमा ल्याइयो भने नेपालको भूराजनीतिमा मात्र होइन, भू-अर्थतन्त्रमा नै कायापलट गर्न सकिने उहाँको धारणा थियो  । चिन-नेपाल-भारत त्रि-देशीय आर्थिक करिडोरको बहस चलिरहेको बेला श्रेष्ठले नेपालको कनेक्टिभिटी चिन देखि बंगलादेशसम्मको हुनुपर्ने नयाँ अवधारणा अगाडी सार्नुभएको छ  । त्यसको लागि प्रदेश सरकारले उद्योग स्थापनाको लागि केहि महत्वपूर्ण ठाउँहरु निजि क्षेत्रलाई लिजमा दिनुपर्ने कुरामा उहाँको जोड थियो  । कार्यक्रम मुख्यमन्त्री राई र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा उद्घाटन् गर्नुभएको थियो  । कार्यक्रममा प्रदेश स्तरका सरकारी निकायका प्रतिनिधिहरु, दसवटै जिल्लाका चेम्बर अफ कमर्सका अध्यक्षहरु र सम्पूर्ण राजनीतिक दलका नेताहरुको उपस्थिति थियो  ।