Banner News

पुराना, अनुचित र असान्दर्भिक सोच छोडेर राष्ट्रनिर्माणको महान अभियानमा लाग्नुपर्छ : प्रम ओली



जेष्ठ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक विषय मात्र नभई समग्र सामाजिक रूपान्तरणको विषय भएकाले सम्पुर्ण नेपालीको उत्सवको रुपमा मनाउदै देश विकासको अभियानमा जुट्न आग्रह गरेका छन् ।

११औं गणतन्त्र दिवसको अवसरमा मंगलबार राजधानीको टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दे ओलीले पुराना, अनुचित र असान्दर्भिक सोच छोडेर राष्ट्रनिर्माणको महान अभियानमा अग्रसर हुन आव्हान गरेका हुन् । राष्ट्रिय भावधारामा आफुलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ मुलुकमा अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता क्रियाकलापमा सहभागी हुनु कुनै पनि अवस्थामा उचित नहुने भन्दै ओलीले सम्वृद्ध र सुखी नेपाल निर्माणमा सहभागी आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने ‘आजको दिनलाई जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो।’ एक दशक अगाडि आजकै दिन गणतन्त्र घोषणा गरेको स्मरण गर्दै एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिनको रुपमा गणतन्त्र दिवसलाई बुझ्नुपर्ने समेत बताए ।