जेष्ठ १७, काठमाडौं । प्रधानमन्त्री केपी ओली असारको पहिलो साता ५ दिने चीन भ्रमणमा जाने निश्चित भएको छ ।
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चीन भ्रमण गरिसकेको र त्यसैअनुसार परराष्ट्रले समेत तयारी गरिरहेको बताएका छन् । कुन्दन अर्यालले प्रधानमन्त्रीको चीन भ्रमण निश्चित भएपनि मिति तय भइनसकेको बताए । उनका अनुसार ‘भ्रमण निश्चित हो, दुवै पक्षको सहमतिमा मिति चाँडै तय हुनेछ ।
परराष्ट्रमन्त्री ज्ञवालीले त्यस क्रममा बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा रेलवे मार्ग, व्यापार, पूर्वाधार, पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।
प्रेस सल्लाहकार अर्यालले भने खासगरी सन् २०१६ मा केपी ओलीले प्रधानमन्त्रीका रूपमा चीन भ्रमणमा गरेका सम्झौता र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा गरेका सहमतिहरू कार्यान्वयन गर्ने विषयमा सहमति हुनसक्छ ।
ओलीले प्रधानमन्त्रीको सपथ खाएको झण्डै डेढ महिनामा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली भारत भ्रमण गरेको दुई महिनापछि अर्को छिमेकी मुलुक चीन भ्रमणमा जान लागेका हुन् । यसअघि प्रधानमन्त्रीको चीन भ्रमणको बातावरण मिलाउन गत वैशाख पहिलो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ६ दिन चीन भ्रमण गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्