समाचार

दाताको सहयोगमा सांसदलाई तालिम आयोजना : सभामुख महराद्वारा सहयोगमात्र भएको जानकारी



(जेष्ठ २३, काठमाडौं) । संसद सचिवालयद्वारा आजोजित तथा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा सांसदहरुलाई दुई दिने तालिमको आयोजना गरेको हो ।

बुधबारबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सुरु भएको तालिममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले सहभागीता जनाएका छन् ।

तालिममा संविधान निर्माण, संघीय संसद र संसदीय अभ्यास, संसद सचिवालयको गठन र उद्देश्य, सचिवालयको सांगठनिक रुपरेखा तथा बिभिन्न महाशाखा र शाखाहरुको काम, संसदमा विधेयक दर्ता हुनु अगाडिको कानुनी मस्यौदा प्रक्रिया, संसदमा विधेयक प्रस्तुत हुने प्रक्रिया, कानुन तर्जुमाको सैद्धान्तिक पक्ष, विधेयकको ढाँचा र अन्तरवस्तुबारे सांसदहरुलाई तालिम दिइने छ ।

भोलीको तालिममा सांसदहरुलाई आर्थिक विषयमा तालिम दिने तयारी भएको संसद ससिचवालयले जनाएको छ । सांसदहरुलाई बजेट निर्माण र वित्तिय अनुगमनमा सांसदहरुको भूमिका एवम् संसद र नागरिकको सम्बन्धबारे तालिम दिइन लागिएको संसद सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

सांसदहरुलाई पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री रमेश लेखक, पूर्वगर्भनर एवम् योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, तत्कालीन संविधानसभाका सदस्य एवम् प्राध्यापक लालबाबु प्रसाद यादवलगायतले तालिम दिने बताइएको छ ।

दाताको सहयोगमा सांसदलाई तालिम आयोजना गर्न लागिएको भन्दै आलोचना भएपछि मन्तव्यको क्रममा सभामुख कृष्णबहादुर महरा भने दाताले भत्ता र तालिम अवधिभर लाग्ने खर्च व्यहोर्ने भनिए पनि सरकारी खर्चबाटै तालिम दिइन लागिएको सभामुख महराले स्पष्ट पारेका छन् । यूएनडीपीले प्राविधिकमात्रै सहयोग गर्ने भएको छ ।