समाचार

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस : जनजीवन कष्टकर



जेष्ठ २७, सिरहा । अत्याधिक गर्मीका कारण दरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् भने जनजीवन कष्टकर बनेको छ ।

पढ्दै गरेको अवस्थामा कक्षा ५ मा अध्ययनरत विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ ।

गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।