समाचार

उखु किसानको धर्ना स्थगित, तालाबन्दी यथावत



जेष्ठ २८, महोत्तरी । महोत्तरी रामनगर स्थित एभरेष्ट चिनी उद्योगमा संलग्न उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ भने तालावन्दी यथावत रहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता व्यक्त गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित भएको हो ।

२२ दिनदेखि जारी धर्ना कार्यक्रममा आई मन्त्री यादवले किसानको समस्या समाधानका लागि उक्त अवधिमा भुक्तानी दिलाउन नसके आफू स्वयं किसानको पक्षमा धर्नामा बस्ने बताएका छन् ।

महोत्तरीका किसानले उखु बिक्री गरेबापत रु एक अर्ब ७५ करोड रकम एकमुष्ट माग गर्दै गत जेठ ६ गतेदेखि तालाबन्दीसहित धर्ना कार्यक्रम जारी राख्दै आएका थिए ।