शैक्षिक

चाँगु र सूर्यविनायकमा गैसस समन्वय समिति गठन



असार ६, भक्तपुर । गैससहरुको सञ्चालन, व्यवस्थापन प्रभावकारी बनाई शुशासन, पारदर्शिता अभिवृद्धी गर्ने उद्देश्यले चाँगुनारायण र सुर्यविनायक नगरपालिकामा नगरस्तरिय गैसस समन्वय समिति गठन भएको छ ।

गैसस महासंघ जिल्ला शाखा भक्तपुरले दुई नगरपालिकासँग संयुक्त रुपमा छुट्टाछुट्टै आयोजना गरेको गैसस अन्र्तक्रिया तथा समिति गठन कार्यक्रममा दुवै नगरपालिका क्षेत्रका गैससहरुको सहभागितामा ११ सदस्यिय समन्वय समिति गठन गरेको छ । चालु आर्थिक बर्षमा दर्ता र नविकरण गरेका ६२ गैर सरकारी संस्था रहेको चाँगुनारायण नगरपालिकामा जयराम थापाको संयोजकत्वमा मनिषा कार्की सहसंयोजक, राजकुमार लामिछाने सचिव, हरिशरण लामिछाने कोषाध्यक्ष पदमा निविरोध चयन भएका छन् । समन्वय समितिको सदस्यमा प्रल्हाद वन, संगिता फुँयाल आचार्य, सुमित्रा चौलागाई, चेतन श्रेष्ठ, राजिव बर्देवा, अरुणा तिमिल्सिना र यादव अधिकारी चयन भएका छन् । त्यस्तै ९९ वटा गैर सरकारी संस्था रहेको सुर्यविनायक नगरपालिकामा अनिता पाण्डेको संयोजकत्वमा धर्मराज भुसाल सहसंयोजक, दिपेश विशुंके सचिव र नारायण प्रसाद राजथला कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अम्बिका कुमारी थापा, सिर्जना शर्मा, बिन्दु उपाध्याय, खगेन्द्र मेघी गुरुङ्ग, धर्मराज बस्नेत, अशोक कुमार प्रधान र मुकुन्द प्रसाद लुईटेल चयन भएका छन् ।

अन्र्तक्रिया कार्यक्रममा नगर क्षेत्रभित्रका गैससका प्रतिनिधीहरुले मुलुकको संघिय संरचना अनुरुप कानुनी अस्पष्टताका कारण संस्था दर्ता, नविकरण प्रक्रियामा अन्योलता सिर्जना भएको र नयाँ ऐन जारी हुन नसक्दा गैसस सञ्चालनमा समस्या भएको गुनासो गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा गैससको भूमिका महत्वपूर्ण रहेकाले गैससहरुलाई पनि रुपान्तरण गर्दै सामाजिक विकासमा सरकारी निकायको सहयोगीको रुपमा उपयोग गर्नुपर्ने बताए । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गैससहरु स्थानीय सरकारलाई सहयोग गर्ने महत्वपूर्ण निकाय भएकाले ती संस्थाहरुको शुशासन र पारदर्शिता अभिवृद्धी गरि नगरपालिकाले परिचालन गर्ने बताए । स्थानीय सरकारको आवश्यकता र औचित्यताका आधारमा संघसंस्थाहरुको परिचालन गर्ने योजना बनाएर बजेट समेत बिनियोजन गरिने थापाले प्रतिवद्धता व्यक्त गरे ।

गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं)को सभापतित्वमा सम्पन्न अन्र्तक्रियामा गैससका निवर्तमान अध्यक्ष बालमुकुन्द सुवाल, सचिव नारायण प्रसाद न्यौपाने, कोषाध्यक्ष पहलमान श्रेष्ठ लगायतले गैससहरुको सञ्चालन, व्यवस्थापन, शुशासन, पारदर्शितालाई प्रभावकारी बनाई नगरपालिकाले समन्वयात्मक रुपमा परिचालन गर्न माग गरे भने जिसस भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, सुर्यविनायकका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी तिमिल्सिना, सूनपा गैसस शाखा प्रमुख लीला प्रसाई लगायतले गैससहरुको अद्यावधी गरि उद्देश्य, क्षमता र आवश्यकताका आधारमा स्थानीय सरकार मातहत व्यवस्थित रुपमा परिचालन गर्न सकिने बताएका छन् ।