समाचार

मानव बेचविखन : प्रहरीद्वारा १० महिलाको उद्धार



असार ११, काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाने क्रममा १० महिलालाई उद्धार गरेको छ ।

नयाँ वसपार्क प्रहरी प्रभागले गोप्य सूचनाका आधारमा नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेका ति महिलाहरुको नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । उनीहरुलाई जागिर लगाइदिने प्रलोभनमा काठमाडौंबाट बुटवलहुदै भारत तर्फ लान लागिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै लैजाने व्यक्ति भने फरार रहेका छन् ।

त्यस्तै आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बाँकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ ।