समाचार

प्रविधिक क्षेत्रमा जोड दिदैं सांसद वस्नेत : प्राविधिक उपकरण हस्तान्तरण



असार १५, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले प्राविधिक क्षेत्रमा जोड दिदैं प्राविधिक उपकरण हस्तान्तरण गरेका छन् ।

सांसद बस्नेतको प्रमुख आतिथ्यमा घरेलु तथा साना उधोग कार्यालय भक्तपुरद्वारा आयोजना गरेको लघु, घरेलु तथा साना उधोग प्रविधि (मेसिन उपकरण) हस्तान्तरण कार्यक्रम घरेलु तथा साना उद्योगमा दर्ता भएका ४६ जनालाई व्यटिपार्लर, सिलाई मेसिन, कुटानी पिसानी सामग्रीहरु हस्तान्तरण गरिएको हो । उक्त सामग्रीमा २० प्रतिशत स्वयम् उद्यमीले लगानी गर्नुपर्ने र वाँकी ८० प्रतिशत घरेलु तथा साना उद्योग मन्त्रालयले लगानी गरी सो कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यमा उद्योग मन्त्रालयको कार्यविधि अनुसार नै मूल्याकन समिति तथा सामान हस्तान्तरण समितीको सिफारिसमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वोल्दै सांसद वस्नेतले आफु उद्योग मन्त्री हुँदा ल्याएको योजना भएकाले यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । सांसद वस्नेतले आर्थिक उपार्जनको निम्ती स्वरोजगार वन्ने प्रमुख माध्यमको रुपमा प्राविधिक कार्य भएकाले यसलाई अझ वढी विकास र विस्तार गर्नु पर्नेमा जोड दिए । देशमा नै रोजगारीको व्यवस्था गरी वर्तमान सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल वनाउन मुख्य भुमिका निर्वाह गर्ने सांसद वस्नेतले बताए ।

विगत दुई वर्ष अघिदेखि संचालनमा आएको उक्त कार्यक्रम प्रभावकारी हुँदै गएमा नयाँ सुविधाहरुका साथमा अन्य धेरै कार्यक्रमहरु ल्याउन सकिने भएकाले पाएको सुविधालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याई आत्मानिर्भर वन्नलाई उद्यामीलाई आग्रह समेत गरेका छन् ।