समाचार

नेपालगञ्ज डुबानमा, नदी किनारका बस्तीमा ‘हाई अलर्ट’



असार १८, नेपालगञ्ज । अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेसँगै सुरक्षाकर्मीलाई हाइअलर्टमा राखिएको छ ।

वर्षाका कारण नेपागञ्जको न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

डुवानका कारण मानिसको दैनिक जीवनमा समस्या सिर्जना भएको छ भने विभिन्न प्रकारका रोगहरुको संक्रमणले ग्रसित हुनुपर्ने समस्या सिर्जना हुन सक्ने देखिएको छ । डुवानका कारण यातायात, विद्यालय, सरकारी तथा गैससरकारी संघसंसाथमा कार्यरत कर्मचारी लगायतलाई समस्या सिर्जना भएको छ ।

वषरले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् ।