रमेश गिरी
(असार १९, भक्तपुर) । भक्तपुरमा पहिलो पटक माध्यामिक विद्यालय तहमा कानून सकायको पढाई सुरु भएको छ । निष्ट फाउण्डेसन अन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्टार डा. रामकृष्ण तिमल्सिनाको नेतृत्वमा कक्षा ११ मा कानून संकायको अध्ययन सुरु गरेको हो ।
आइतबार भक्तपुर निष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै भक्तपुर निष्टका संस्थापक प्रिन्सिपल एवं भक्तपुर प्याब्सनका वरिष्ट उपाध्यक्ष चन्द्र अधिकारीले कानूनमा धेरै अवसर सृजना भएपछि विद्यार्थीको आकर्षण यसतर्फ निकै बढेको चर्चा गर्नुभयो ।
देशमा कानून विषयका जनशक्तिको अभाव बढ्दै गएपछि यसलाई पूर्ति गर्ने उदेश्यका साथ निष्टले कक्षा ११ र १२ मा कानून संकायमा अध्ययनको सुरुवात गरेको उहाँले बताउनुभयो ।
अहिले अदालत, कानून मन्त्रालयमा मात्रै नभई, संविधानले व्यबस्था गरेअनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारमा समेत कानूनका जनशक्ति पर्याप्त मात्रामा आवश्यकता पर्ने भएपछि विद्यार्थीको आकर्षण यसतर्फ बढेको हो ।
सरकारले गतवर्षदेखि विद्यालय तहमा कानुन बिषय पढाउन अनुमति दिएपछि भक्तपुर निष्टले यसवर्षदेखि कानुन संकायमा अध्ययन सुरु गरेको हो । न्यायलयमा भएको समस्यालाई समाधान गर्न न्यायपालिका र कानुन मन्त्रालयमा मध्यमस्तरको जनशक्ति कानुन पढेकै आवश्यक पर्ने भएकाले न्याय समन्वय समिति, कानुन मन्त्रालयको सिफारिसमा विद्यालय तहमा कानुन पढाउन थालिएको हो ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कानुनको पाठ्यक्रमअनुसार कक्षा ११ र १२ गरी दुई वर्षमा एक हजार पूर्णाङ्गको पाठ्यक्रम मध्ये कानुन संकायमा सात सय पूर्णाङ्गको पाठ्यक्रम पढ्नु पर्नेछ । कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३ सय पूर्णाङ्ग र कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक चारसय पूर्णाङ्ग कानुनको बिषय अध्ययन गर्नु पर्ने हुन्छ ।
कानुनको मस्यौदा प्रक्रिया, कार्यविधि कानुन, देवानी र फौजदारी कानुन, मानवअधिकारको अध्ययन हुनेछ । यो तहमा कानुनको अध्ययनले विद्यार्थीलाई आधारभूत तहदेखि नै विधिशास्त्र, संवैधानिक कानुन, मानवअधिकारलगायतका विषयमा ज्ञान प्राप्त हुन्छ भने कानूनमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीका लागि कक्षा ११ र १२ को कानून संकायको पढाई बलियो जगका रुपमा स्थापित हुने विश्वास लिएको छ ।
सरकारले केही वर्ष अघि प्रमाणपत्र तहमा कानून संकाय हटाएपछि कानून पढ्न चाहने विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न चाहेमा स्नातक तह उतीर्ण गरेपछि फेरी कानूनमा स्नातक तह मै भर्ना हुनुपर्ने नियमले विद्यार्थीलाई दोहोर्याएर स्नातक तह पढ्नुपर्ने बाध्यता रहेको छ ।
कक्षा ११ र १२ मा कानुन अध्ययन गरेका विद्यार्थीले सिधै स्नातक तहमा कानुन संकायमा अध्ययन गर्न पाउँनेछन् भने अन्य संकायमा पनि सिधै अध्ययन गर्न पाउँछन् । कानून संकाय अध्ययन गरेका विद्यार्थीले न्यायलयमा सर्वसाधरणको सिधै सम्पर्क हुने मध्यस्तरको जनशक्ति खरदार, नायब सुब्बामा अवसर पाउँनेछन् ।
अदालतमा म्याद तामेली गर्ने, आदेशको कार्यान्वयन गर्ने, मिसिल झिकाउने लगायतको काममा खरदार र नायब सुब्बा नै प्रत्यक्ष सहभागि हुन्छन् । यसमा न्यायलय र कानुन मन्त्रालयमा रोजगारीको अवसर पाउँछन् । कानून अध्ययन गरेको विद्यार्थीले स्वदेशमा मात्रै नभई विदेशमा समेत पर्याप्त मात्रामा अवसर रहेकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको हो ।










प्रतिक्रिया दिनुहोस्