असार १९, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारीलाई सर्वस्वसहित जन्मकैद सजाय दिनुपर्ने बताएका छन् ।
बुधबार न्याय सेवा तालिम केन्द्रमा संघीय संसद सचिवालयका उपसचिवहरूलाई नेपालको विकास र समृद्धिबारे प्रशिक्षण दिने क्रममा डा. भट्टराईले नेपालमा समृद्धि ल्याउनका लागि शासकीय प्रणालीमा सुधार र राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्ने बताए । कार्यक्रममा वोल्दै भट्टराईले नेपाललाई पाँच वर्षमा निरपेक्ष गरिबिमुक्त, १० वर्षमा मध्यम आयस्तर र २० वर्षमा पहिलो विश्वको स्तरमा पुर्याउन सम्भव रहेको बताए ।
उनले संघीयताको सफल कार्यान्वयनका निम्ती देशमा रहेका सम्पूर्ण जातजाती, भाषाभाषी, धर्म, संस्कृति, मुल्य मानयताहरुका विच सद्भाव र राष्ट्रिय एकता हुनुपर्ने, सबै नेपालीमा दह्रो देशभक्तिको भावना र कडा श्रम संस्कृति हुनुपर्ने र नेपालका दुवै छिमेकीको आर्थिक विकासको गतिसँग पदचाप मिलाउने दक्षता विकास गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्