असार २५, एजेन्सी । जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी वेपत्ता भएसँगै सरकारले १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थामा वस्न आग्रह गरेको छ ।
प्रधानमन्त्री सिन्जो आबेले भनेका छन् ‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’ जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको पिरफेक्चरमा भएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् ।
गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको क्योटो शहरमा अहिले पनि मुसलधारे वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीका अधिकारीहरुका अनुसार अझै केही दिनसम्म वर्षा जारी रहने सम्भावना छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस्