Banner News

सरकारले निर्णय पारदर्शीरुपमा गर्ने गरेको छः मन्त्री बाँस्कोटा



२६,असार काठमाडौ।सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिएका छन ।

उनले भने, “सरकार सरकार हो, तपाईंहरुले दल विशेषको नीतिको व्याख्या गर्नुपर्दैन, यो काम राजनीतिक नेतृत्वले गर्छ । सरकारले गरेका कामको राम्रो व्याख्या गरी जनतालाई बुझाउनुहोस्, यसबाट नै सरकारको प्रभावकारिता वृद्धि हुन्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयका गतिविधिलाई हरेक दिन अद्यावधिक गरी सञ्चारकर्मी मार्फत जनताकहाँ पु¥याउन प्रवक्तालाई आग्रह गरेका छन् ।

“मन्त्रालयगत निर्णयहरु स्पष्टरुपमा सञ्चारकर्मीलाई भनिदिनुस्, प्रष्टवक्ता बन्नुहोस्, तपार्इंले सम्प्रेषण गरेका सूचना, जानकारीको समाचार कसरी बनाउने भन्ने जिम्मा त सञ्चारकर्मीको हो”, मन्त्री बाँस्कोटाले भने।

उनले सञ्चार क्षेत्रलाई द्दुविभा हुने गरी सूचना तथा जानकारी नदिँदा राम्रो हुने चर्चा गर्दै सरकारका नीति, योजना तथा कामलाई प्रष्टरुपमा जनतालाई बुझाउने दायित्व प्रवक्ताको पनि भएको बताए।

सूचना पाउने संविधान प्रदत अधिकार भए पनि कूटनीतिक, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाका विषयसित सम्बन्धित सूचना तथा जानकारी दिँदा संवेदनशील बन्न मन्त्री बाँस्कोटाले आग्रह गरेका छन् ।

उनले भने “लोकतन्त्रमा आलोचना, समालोचना हुनु स्वाभाविकै हो, जे छ त्यो स्पष्टरुपमा राखिदिनुस्, त्यसले सञ्चार क्षेत्र र सडक समेतमा बहस हुन्छ, बहस भयो भनेर कोही डराउनुहुन्न ।”

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने “सरकारका प्रवक्ताले सरकारले जे निर्णय गर्छ त्यही भन्ने हो, सार्वजनिक गर्ने हो, मन्त्रालयगत सबै निर्णयको जानकारी सरकारका प्रवक्तासित नहुन सक्छ, यस्तो अवस्थामा मन्त्रालयका प्रवक्ताले सही, स्पष्ट सूचना दिनुपर्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा जनतासामु सञ्चार माध्यम मार्फत पस्कने काम प्रवक्ताको रहेको चर्चा गर्दै समयमा स्पष्ट रुपमा सत्यतथ्य जानकारी दिन प्रवक्तालाई आग्रह गरे ।

उनले मन्त्रालयले राजपत्र लगायत सूचना मोबाइल एप्समा राख्न शुरु गरिसकेको जानकारी पनि दिए ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक कार्यान्वयनमा ‘प्रवक्ता र सूचना अधिकारीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रवक्ताहरु प्रचारमुखी भइदिँदा मन्त्रालयको प्रभावकारितामा वृद्धि हुन्े बताए ।

उनले भने “तपाईंहरु निर्धक्क रुपमा आफ्ना कामका बारेमा जनतालाई सूचना तथा जानकारी दिनुहोस्, यस कार्यमा आइपर्ने समस्या समाधान गर्न म सहजीकरण गरिदिन्छु ।”

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले ‘प्रवक्ता र सूचना अधिकारीसँग पत्रकारको अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार देखेर प्रवक्ता आत्तिनु नहुने बताए । प्रवक्ता सक्रिय भएमा मन्त्रालयको विश्वसनीयता बढने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्रीराम तिवारीले प्रवक्ताका क्षमता अभिवृद्धि गर्न मन्त्रालयले ध्यान दिँदै आएको बताए । कार्यक्रममा विभिन्न मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारीको सहभागिता रहेको थियो । नेपालपाटी