समाचार

कानुन दराजमा थन्क्याउने नभई कडाईका साथ पालना गर्नुपर्छ : मुख्यमन्त्री राई



असार २७, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधनराईले बर्तमान सरकार कानुन निर्माण गरी कुनै दराजमा थन्क्याउन नभई कडाईका साथ पालना गर्नु र गराउनु पर्ने बताएका छन् ।

विराटनगरमा आयोजित प्रदेशको भु उपयोग स्थिति अध्ययन, खण्डिकरण रोकथाम र चक्लाबन्दी खेतीको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री राईले वर्तमान सरकारको लक्ष्य कृषिलाई आधुनिकीकरण गरी कृषिमा आत्मानिर्भर बनाउने रहेको भन्दै जग्गा खण्डिकरण नियन्त्रण गर्न छिट्टै कानुन बनाउने जानकारी दिए । उनले जग्गा खण्डिकरणका कारण खाद्य उत्पादन घटेको र पर्यावरणीय समस्या समेत आएकाले भु उपयोग नीतिलाई अक्षरश पालना गराउने दृढता व्यक्त गरे ।

एक नम्बर प्रदेशमा करिब ६ लाख २ हजार ५ सय हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ४ लाख ९० हजार ५ सय हेक्टरमा अस्थायी बाली, करिब १ हजार ६ सय हेक्टर चरन क्षेत्र र करिब ७ हजार २ सय हेक्टर जग्गा बाँझो रहेको तथ्याङ्क रहेको छ ।