शैक्षिक

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन



साउन १, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

५२ वर्षीय सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्थानीय चुनावमा उहाँले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार भन्दा बढी मतले हराउनु भएको थियो ।

२०४० सालमै अनेरास्ववियू नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले चिनिन्थ्यो ।  सुब्बा संघको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बन्नुभएको थियो ।

सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।