साउन ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्ती पुष्प कलम दाहाल प्रचण्डले अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी नभई छट्पटिएको बताएका छन् ।
नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अस्थिरताको फोहोर फालेर समाजवादउन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए । अस्थिरतामा र अराजकतामा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेको बताए ।
कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको रक्षाका लागि संविधानमा भएका व्यवस्था कार्यान्वयन हुनुपर्ने बताए ।
राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले यस क्षेत्रको विकासका लागि अधिकारसम्पन्न प्रतिष्ठान खोलिनुपर्ने माग गरेका छन् ।
संघका निर्देशक नरबहादूर लिम्बूको मुक्तक संग्रह ‘अनुभूतिका झुल्काहरु’ को पनि विमोचन गरियो भने न्यूनदृष्टियुक्तका लागि डा बालकृष्ण बलले तयार गरेको ‘टेक्स्ट टु स्पिच’ सार्वजनिक गरियो ।
कार्यक्रममा अपाङ्गता र न्यूनदृष्टियुक्तको अधिकारका क्षेत्रमा पत्रकारिताबाट योगदान दिएवापत ‘राष्ट्रिय समाचार समिति’ (रासस)का प्रकाश सिलवाल र ‘कान्तिपुर’ दैनिक पत्रिकाका दामोदार न्यौपानेलाई जनही रु १० हजार राशिको पुरस्कार तथा नर्वेली परियोजना एनएविपीका निर्देशक हरिशरण विष्टलाई सम्मान र ११० न्यूनदृष्टियुक्तलाई लायन्स क्लब अफ काठमाडौँ, रेबो सिटीका तर्फबाट सेतो छडी वितरण गरियो ।










प्रतिक्रिया दिनुहोस्