समाचार

भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउँछु : प्रम ओली



साउन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउने बताएका छन् ।

नेपाल ट्रेड यूनियन महासंघ र अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्’ प्रधानमन्त्री आलीले भने ‘हामी गरिब नेपालीलाई समृद्ध बनाउँछौं र आगामी दुई वर्षभित्र काठमाडौँका सबै सडक हेर्न लायक बनाउँछौ ।’

नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैँ मजदुरको पक्षमा रहेको र कुनै पनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताए । राष्ट्र निर्माणको महाअभियान शुरु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘अब नेपाल गरीब रहन सक्दैन । कामको खोजीमा भौतारिएर हिँड्नु पर्दैन । मुलुकमा नै स्तरीय कामको व्यवस्था हुन्छ ।’

उनले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने बताए । अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरीसमेत बनाउने उद्घोष गरेका छन् ।

प्रधानमन्त्रीले कालो वजारी तथा भ्रष्टचारको अन्त्य गर्ने बताउँदै नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानूनी तवरले कुनै पनि रकम ल्याउन नदिइने बताए । उनले भने, ‘हुन्डी, कालोधन, गैरकानूनी चलखेल गर्न पाइदैन । सरकार त्यस्तो गतिविधिलाई सहदैन । अनियन्त्रित, गैरकानूनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।’ प्रम ओलीले भने, ‘भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।’

उनले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता व्यक्त गरे । नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै प्रधानमन्त्रीले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख गरे ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट एकता विश्व समुदायका लागिसमेत चर्चा र चासोको विषय भएको बताए । उनले विवादलाई सहमतिमा रुपान्तरण गर्ने, जिम्मेवारी लिन र त्याग गर्न समेत तयार भएर एकतालाई सार्थक बनाउन समेत कार्यकर्तालाई निर्देशन दिए ।