शैक्षिक

देशभर ९० प्रतिशत धान रोपाइँ : ५५ लाख मेट्रिक्टन उत्पादन हुने



साउन १९, काठमाडौं । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएसँगै करिव ५५ लाख मेट्रिक्टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

कृषि विकास मन्त्रालयले संकलन गरेको अभिलेख अनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ ।

गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आव २०७३/०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको अभिलेख मन्त्रालयसँग छ ।

मन्त्रालयको तथ्याङक अनुसार तराई क्षेत्रबाट धानको उत्पादकत्वमा समेत वृद्धि भई कूल उत्पादनको ७१ प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा २९ प्रतिशत उत्पादन हुने गरेको छ । मुलुकमा १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ । धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ ।

स्वदेशमा उत्पादन हुने धानबाट करीब ३० लाख मेट्रिक टन खानयोग्य चामल बन्ने गर्दछ । देशभर हाल चामलको माग ३८ लाख मेट्रिक टन रहेको हुँदा सो उत्पादनमा करीब आठ लाख मेट्रिक टन चामल अपुग हुने गर्दछ । गत वर्ष करीब रु २६ अर्ब बराबरको चामल आयात भएको अभिलेख छ ।

नेपालमा धानको साथसाथै गहुँ २० हजार मेट्रिक टन, मकै २३ लाख मेट्रिक टन, कोदो तीन लाख मेट्रिक टन उत्पादन हुने गरेको छ ।