Banner News

अबिरल वर्षाले उपत्यकाका धेरै ठाउँ डुवानमाः सूरक्षाकर्मी स्ट्याण्डबाई



साउन २१, काठमाडौं । अबिरल वर्षाका कारण काठमाडौंको बागमति किनारमा रहेका सुकुम्वासी वस्ती, ललितपुर भैसेपाटी सपिङ सेन्टर तथा भक्तपुरका केही ठाउँमा डुवान भएको छ ।

शान्तिनगरका १५–२० घर डुबानमा परेको छ भने वल्खुको सुकुम्वासी वस्तीमा दुई तीन घर डुवेको छ । त्यस्तै वल्खुको सुकुम्वासी वस्तीमा पाँच छ घर जोखिममा रहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ । शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि गोदावरी खोलाको वाढीका कारण पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार ललितपुरकै लाँकुरी भञ्ज्याङ, भट्टेडाँडालगायत क्षेत्रका सडकमा पहिरो झरेर बाटो अवरुद्ध छ ।
यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा पनि पानीको बहाव बढ्दो क्रममा छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सम्भावित अवस्थालाई मध्यनजर गरेर उच्च सतर्कता अपनाइएको उनले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म डुबानको जानकारी आएको छैन तर हामी स्ट्याण्डबाई छौं ।’