साउन २३, एजेन्सी । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेसँगै अदालतको फैसला पश्चातमात्र अन्तेष्टि हुने भएको छ ।
करुणानिधिको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको थियो । करुणानिधिको पार्टी डिएमकेले शवलाई मरीना बीचमा समाधिस्थ गर्न माग गरेको छ र त्यसका लागि प्रदेश सरकारसँग जग्गा उपलब्ध गराइदिन भनेको छ । तर, एआईएडीएमके सरकारले त्यसको अनुमति नदिएपछि यो विवाद उच्च अदालतसम्म पुगेको हो । त्यस्तै एम करुणानिधिका समर्थकहरुले मरीना बीचमा अन्तिम संस्कार हुनुपर्ने र त्यहाँ स्मारक पनि बनाइनु पर्ने माग राख्दै मंगलबार साँझ नै अस्पताल बाहिर तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।
करुणानिधिको परिवार र कांग्रेस आई अध्यक्ष राहुल गान्धीले पनि डिएमकेको मागमा समर्थन जनाएका छन् । मद्रास उच्च अदालतले बुधबार (आज) उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्