Banner News

समृद्धि प्राप्त गर्न गरिबी विरुद्ध योजनावद्ध रुपमा एकढिक्का भई लाग्नुपर्छ : मन्त्री बाँस्कोटा



साउन २६, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले समृद्ध नेपाल र सुरखि नेपालीको अभियानलाई सफल वनाउन गरिवी विरुद्ध सवै आम नेपाली एक ढिक्का भई लाग्नुको अर्को कुनै विकल्प नभएको बताएका छन् ।

आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा वोल्दै मन्त्री बाँस्कोटाले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ–आफ्नो ठाउँबाट योगदान तथा सहयोग गर्न आग्रह समेत गरेका छन् ।

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, अर्थ मन्त्रालयका सचिव राजन खनाल र कलाकार हरिवंश आचार्यलाई नेपाल पत्रकार महासंघ काभ्रे र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरेको थियो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, मण्डन देउपुर नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कूल दुई हजार ६४० थान प्राथमिक स्वास्थ्य सामग्री वितरण गरिएको छ ।