Banner News

नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्नुपर्छ : मन्त्री मगर



साउन २७, पोखरा । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताएकि छिन् ।

पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको शनिबार आयोजित हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा मन्त्री मगरले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने पानी राम्रो मूल्यमा बिक्री गर्न सकिने बताइन् । त्यस्तै संविधानको मौलिक हकमा व्यवस्था भएअनुरुप जनताको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गर्न मन्त्रालयले कार्ययोजना बनाएर अघि बढिरहेको बताउँदै विश्वको दोस्रो जलस्रोतको धनी मुलुक नेपालमा अहिले पनि पानीको सही सदुपयोग हुन नसकेको धारणा समेत व्यक्त गरिन् ।

परियोजनाअन्तर्गत सेती नदी र मर्दी खोलाको विभिन्न तीन स्थानमा करिब रु ३५ लाखको लागतमा निर्माण सम्पन्न गरिएका शव दाहगृह, शौचालय र प्रतिक्षालय लगायतका संरचनालाई उपभोक्ता समितिलाई हस्तान्तरण पनि गरिएको छ ।