साउन ३१, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनताले प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसको साथ छोडिसकेको र अव कार्यकर्ताले मात्र साथ छोड्न वाँकी रहेको बताउँदै नागरिकमा भ्रम छर्ने चेष्टा नगर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।
बिहीबार विभिन्न पार्टीका युवाहरुलाई पार्टीका प्रवेश गराउँदै ओलीले पार्टीका प्रवेश गरेका युवाहरुले सही छनौट गरेर पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनीहरुको विश्वासलाई अझै सुदृढ बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । त्यस्तै सरकार गतिका साथ अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि नेपाली कांग्रेसलाई आह्वान गरे । उनले भदौं १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन पनि सबैलाई आग्रह गरे ।
प्रम ओलीले पार्टीमा प्रवेश गरेका युवाहरुले मौरीसँग उडान भरेको भन्दै फूलको थुंगामा पुग्नेमा ढुक्क हुन पनि आग्रह गर्दै राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि पार्टीमा प्रवेश गरेका युवाहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको बताए । अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने एक मात्रै शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको पार्टीमा प्रवेश गरेका युवाहरुले पनि पुष्टि गरेको दाबी गर्दै राष्ट्र र नागरिकको हितमा सरकारलाई अझै मजदुतका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा काठमाडौं, ललितपुर र ओखलढुंगाका विभिन्न राजनीतिक दलका युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए । कार्यक्रममा सयौ युवाहरु नेकपामा प्रवेश गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्