भदौ २, भक्तपुर । किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्दै गरेको अबस्थामा सूर्यविनायक नगरपालिकाको अनुगमन टोलीले फेला पारी शिलबन्दी गरेको सूर्यविनाक नगरपालिका ६ पाण्डु्बजारस्थित तेजस्वी फार्मेसीको आज शिलबन्दी खोलेको छ ।
नगरपालिकालाई कुनै जानकारी नै नदिई औषधि व्यबस्था विभागले आर्थिक प्रलोभनमा परेर सुटुक्क आएर फर्मेसीको शिलबन्दी खोलेको भन्दै नगरपालिकाले विभागको कार्यशैलीको बिरोध गर्दै शिलबन्दी गर्ने र कारबाही गर्ने अधिकार स्थानीय सरकारलाई दिन माग गरेको छ ।
गत साउन १ गते सूर्यविनायक नगरपालिकाले नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाको नेतृत्वमा गरेको अनुगमनमा किशोर र युवाहरुलाई लागू औषधिको रुपमा प्रयोग गर्ने नशालु अबैध औषधि बिक्री गर्दै गरेको अबस्थामा फेला पारेर विभागका कर्मचारी बोलाई शिलबन्दी गरेको थियो ।
नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले नगरपालिकाले अनुगमन गर्दा दोषी भेटिएको फार्मेसीलाई विभागले के कारबाही गर्यो, या गरेन भन्ने समेतको नगरपालिकालाई जानकारी नगराई विभागले सुटुक्क शिलबन्दी खोलेको बताए ।
विभागले स्थानीय सरकारको बेवास्ता गरेको बताउँदै उनले विभागको नियतमाथि शंका उब्जिएको बताउँदै उनले अनुगमन मात्रै नभई शिलबन्दी गर्ने, कारबाही गर्ने र शिलबन्दी खोल्ने अधिकार नगरपालिकाले पाए मात्रै सहज हुने बताए ।
र्यविनायक नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाले शिलबन्दी गरेको फार्मेसीसंग आर्थिक लेनदेन गरेर नगरपालिकालाई जानकारी नै नगराई विभागले शिलबन्दी खोलेको आरोप लागए ।
विभागको कार्यशैली प्रति नगरपालिकाले बिरोध गरेको बताउँदै सापकोटाले भने “औषधि पसलको अनुगमन र कारबाही गर्नुपर्ने विभागले अनुगमन गर्दैन, नगरपालिकाले गरेको अनुगमनमा दोषी पाएर शिलबन्दी गरेको पनि गोप्य रुपमा आएर सुटुक्क विभागका कर्मचारीले शिलबन्दी खोलेर जान्छन्, विभागका कर्मचारी आर्थिक प्रलोभनमा परेर गर्ने यस्ता कार्यले दोषीलाई प्रोत्साहन मिलेको छ, कारबाही गर्ने अधिकार नगरपालिकाले पाउँनुपर्छ ।”
विभागले शिलबन्दी खोले पनि युवा र किशोर किशोरीलाई लागू औषधका रुपमा अबैध औषधि बिक्री गर्ने तेजस्वी फार्मेसीलाई कारबाही नै नगरी शिलबन्दी खोलेको भन्दै स्थानीयले विभागको कार्यशैलीको समेत बिरोध गरेका छन् ।
गत साउन १ गते भएको अनुगमनमा भक्तपुर नगरपालिका साविक १४ हाल वडा नं. ३ बस्ने डी. फार्मेसी उतीर्ण गरि औषधि पसल संचालन गर्दै आएकी रिना श्रेष्ठले संचालन गरेको उक्त फार्मेसीबाट ट्रेनडल (Tranadal) १०० एमजी, ५० एमजी, क्लोनाज (Clonaz), क्लस्प (Klasap) लगायतका पाँचवटा ब्राण्डका अबैध औषधिहरु बरामद गरी शिलबन्दी गरेको थियो ।
सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले यो पसलबाट अबैध औषधि बिक्री भईरहेको र किशोर तथा युवाहरुले लागू औषधिको रुपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुगमन गरेर शिलबन्दी गरेको भएपनि विभागले सुटुक्क शिलबन्दी खोलेको आपत्ति जनाए । औषधि व्यबस्था विभागका फार्मेसी निरीक्षक राम शर्मा पौडेलले पसल शिलबन्दी गरेको र शिलबन्दी खोल्न पनि उनकै टोली आएको थियो ।
औषधि व्यबस्था विभागका महानिर्देशक नारायण ढकालले भने उक्त फार्मेसीलाई अब अबैध औषधि वितरण नगर्न सचेत गराउँने निर्णय गरेको जानकारी दिदै शिलबन्दी खोलिएकोबारे भने आफूलाई जानकारी नभएको बताए ।










प्रतिक्रिया दिनुहोस्