समाचार

ओम शान्ति मार्गको उद्घाटन, भक्तपुरको विकासबाट नेमकिपा त्रसित : सांसद वस्नेत



भदौ २, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट स्थित ओमशान्ति टोलमा निर्माण सम्पन्न भएको ओम शान्ति मार्गको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले भक्तपुरको विकासलाई कसैले रोकेर नरोकिने वताएका छन् ।

स्थानीय कन्सस सोसाईटीको अग्रसरतामा नेपाल सरकार काठमाण्डौं नगरविकास प्राधिकरणको रु. ६५ लाख सहित जनसहभागितामा ढलान सहितको पक्कि सडक निर्माण सम्पन्न भएसंगै सोसाईटीले आयोजना गरेको सडकको उद्घाटन कार्यक्रममा वोल्दै सांसद वस्नेतले भक्तपुरमा पछिल्लो समयमा आएको विकास बिथोल्न खोज्ने केही तत्वहरु लागिपरेको बताउँदै त्यस्ता तत्वलाई पन्छाउँदै विकासलाई तिब्र गतिमा लैजाने बताएका छन् ।

सरकारले भक्तपुरको भकारीमूलमा अन्तराष्ट्रिय रंगशाला बनाउँने कार्यलाई अगाडि बढाएपछि नेपाल मजदूर किसान पार्टीले रंगशाखा भक्तपुरमा ल्याउन हुदैन भनेर विकास विरोधी कुरा गरिरहेको बताउँदै भक्तपुरमा विकास नचाहने एउटै मात्र दल नेमकिपा भएको बताए । सांसद बस्नेतले भने “भक्तपुरमा हामीले ३ नं प्रदेशको राजधानी बनाउँनु पर्छ भन्यौ, नेमकिपाले बिरोध गर्यो, हामी अन्तरास्ट्रिय रंगशाला बनाउँन लागिरहेका छौ, नेमकिपा हुदैन भन्दैछ, भक्तपुरको विकासबाट आउँने सम्पन्नता र नयाँ चेतनाले नेमकिपा त्रसित छ ।”

भक्तपुरलाई अबको चारवर्ष भित्र विकास र समृद्ध बनाउँने अठोटलाई पुरा गरेरै छाड्ने बताउँदै जनतालाई विकासमा साथ दिन उनले आग्रह गरेका छन् ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले राजधानी म भएर पनि पछाडि परेको भक्तपुरलाई विकासबाट माथि उठाउँन केन्द्रीय सरकार मात्रै नभई स्थानीय सरकार पनि लाग्ने वताइन ।

कार्यक्रममा सासाईटीका अध्यक्ष नारायण आचार्य, स्थानीय समाजसेवी रबी श्रेष्ठ लगायतले सडक निर्माणसंगै यहाँका बासिन्दाको आवागमनमा सहजता पुगेको बताए ।

कार्यक्रममा उक्त सडकलाई बजेटको व्यबस्थापन गर्न सहयोग पुर्याएको भन्दै सोसाईटीले प्रतिनिधीसभा सदस्य बस्नेतलाई सम्मान गरेको छ ।