Banner News

रसुवागढी – काठमाडौं रेलमार्ग : २ खर्ब ५७ अर्ब, ९ वर्ष लाग्ने



भदौ ३, काठमाडौं । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा प्रतिष्ठाको विषय वनेको केरुङ-काठमाडौं रेलमार्ग अन्तरगत नेपालभित्रको रसुवागढी – काठमाडौं रेलमार्ग खण्ड निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ भने रेलमार्ग पुरा हुन ९ वर्ष समय लाग्ने उल्लेख छ ।

शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा महानिर्देशक अनन्त आर्चाय सहितको टोली र चाइना रेल्वे एडमिनिस्ट्रेशनका प्रतिनिधी बीच केरुङ–काठमाडौं रेलमार्ग निर्माणका बारे यसअघि गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल भएको थियो ।

चिनियाँ पक्षले प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै केरुङ–रसुवागढी–काठमाडौं करिब ७२ दशमलव २५ किलोमिटर दुरीको रेलमार्ग हुने उल्लेख गरेको छ । रेल विभागका बरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले यो रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ । यस अनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५५ करोड खर्चिनुपर्ने बताएका छन् ।

यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टमा यो विषय उल्लेख छ । यसअघि स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले केरुङ(काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको थियो ।

चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ । त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ ।

उक्त मार्गलाई चीनको सहयोगमा काठमाडौंसम्म जोड्ने योजना नेपाल सरकार रहेको छ भने चीनले सहुलियत ऋणमा रेलमार्ग बनाउने इच्छा देखाएको छ । नेपालले भने अनुदानमै आयोजना बनाइदिन आग्रह गरेको छ ।